एमाले महाधिवेशन: पदाधिकारीमा पूर्वमाओवादीका ३ जना निर्वाचित

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १६:४५

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनको मत परिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट निर्वाचित भएका छन् ।

उनीहरुको नाम एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेश गरेका थिए । एमालेकै घनश्याम भुसाल भने उपाध्यक्ष पदमा पराजित भएका छन् । अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलको पक्षमा देखिएका भुसाल पराजित भएका हुन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् ।  खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत मात्रै पाएका हुन् । अध्यक्ष पदमा भने केपी शर्मा ओली निर्वाचित भएका छन् ।