एमाले महाधिवेशन: सचिवमा भीम आचार्य र टंक कार्की पराजित

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १६:३८

चितवन । नेकपा एमालेमा सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र कंक कार्की भने पराजित भएका छन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र प्दमाले समान १८०० मत पाएका छन्  । लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

त्यस्तै नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । अध्यक्ष पदमा भने केपी शर्मा ओली निर्वाचित भएका छन् । अर्का उम्मेदवार डा. भीम रावल पराजित भएका छन् ।