दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार ०९:२४

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । सोमबार साँझ पाँच बजेतिरको समयमा बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको निलगिरी यातायात प्रालिको जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेका छन् ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार, गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएकोहो । सोही दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।