मकवानपुर ट्राफिक प्रहरीद्वारा झण्डै एक करोड राजश्व संकलन

तु खबर संवाददाता
२०७८ मंसिर ८,बुधबार १०:१७

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ४ महिनामा झन्डै एक करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार, गत साउन महिनादेखि कार्तिकसम्म रु ९३ लाख २९ हजारको राजश्व संकलन गरेको हो ।

प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेका अनुसार, चालु आर्थिक वर्षमा सबैभन्दा धेरै कात्तिक महिनामा राजश्व संकलन गरेको छ । कात्तिकमा ३३ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन हो । यस्तै, मकवानपुर ट्राफिक प्रहरीले साउनमा १७ लाख ५८ हजार रुपैयाँ, भदौमा १७ लाख ५८ हजार रुपैयाँ र असोजमा २४ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७६–०७७ मा १ करोड २४ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । यस्तै, गत आर्थिक वर्ष २०७७–०७८ मा २ करोड ७१ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।