१० औं महाधिवेशनको पूर्वसन्ध्यामा एमाले मकवानपुुरको मोटरसाइकल र्‍याली

तु खबर संवाददाता
२०७८ मंसिर ७, मंगलवार १९:०२

मकवानपुर । नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्ध्यामा एमाले मकवानपुुरले आज हेटौंडामा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । एमालेको चितवनमा हुने १० औँ महाधिवेशनको लागि पार्टी सचिवालय सदस्य सुनिल मोक्तानको संयोजनमा हेटौंडाको विभिन्न ठाउँमा मोटरसाइकल र्याली गरिएको हो ।

हेटौंडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, बागमती, मनहरी, मकवानपुरगढी, भीमफेदी लगायतबाट पनि सहभागी भएको र र्‍यालीमा  ठूलो संख्यामा मोटरसाइकल, साना गाडिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक मोक्तानले बताए । यही मंसिर १० गते चितवनको नारायणगढमा हुने नेकपा एमालेको १० औँ राष्ट्र्रिय महाधिवेशनको उद्घाटन सत्रको लागि मकवानपुरबाट २ हजार मोटरसाइकल, ५ सय साना सवारी तथा २ सय वटा बससहितको र्‍याली मकवानपुरबाट लगिने मोक्तानले बताए । छिमेकी जिल्लामा हुने महाधिवेशनलाई भब्य बनाउनको लागि एमालेको सबै निकायहरु लागि परेको र प्रचारको लागि आज हेटौंडामा बृहत्त मोटरसाईकल र्‍यालीको आयोजना समेत भएको उनको भनाई छ ।