नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा

तु खबर संवाददाता
२०७८ मंसिर १, बुधबार १९:०२

काठमाडौँ । नेपाल परिवार दलले तेश्रो राष्ट्रिय महाधिवेशनको लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । दलले बुधबार पत्रकार सम्मेलनमार्फत् सम्पूर्ण तयारी सकिएको र महाधिवेशन आगामी मंसिर ४ र ५ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराएको हो ।

‘‘सबैखाले विभेदको अन्त्य गरौँ : सु–संस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’’ भन्ने मूल नाराका साथ हुने महाधिवेशन अनलाइन र भौतिक दुबै तरिकाबाट गरिने जनाइएको छ । कोरोनाको संक्रमणको जोखिमलाई ध्यानमा राखी पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गरिनेसमेत उल्लेख गरिएको छ ।

तेश्रो राष्ट्रिय महाधिबेशनमा देशभरबाट चुनिएका एक हजार पाँच सय प्रतिनिधि मध्ये ७ सय जना भौतिक रुपमा उपस्थित हुने छन् भने बाँकीले अनलाइनमार्फत् सहभागिता जनाउने दलका प्रवक्ता सन्तोष कुमार पौडेलले बताए । उनका अनुसार महाधिवेशनमा एक सय जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्र बंगलादेश, थाइल्याण्डलगायतबाट पाँच जना विशिष्ट अतिथि सहभागि हुनेछन् ।

त्यस्तै त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपूर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियोमार्फत् शुभकामना दिनेछन् । महाधिवेशन सफल पार्न विभिन्न १५ वटा समिति गठन गरिएको छ । परिवार दलको युवा संगठन पिस फोर्सका दुई सय युवा महाधिवेशनमा स्वयमसेवकको रुपमा रहनेछन् ।

उद्घाटन सत्र र बन्द सत्र प्रज्ञा भवन कमलादीमा र घोषणा सभा क्राउन प्याजा होटल नक्सालमा हुने जनाइएको छ । अधिकाँश कार्यकर्ता र शुभेच्छुकहरु आ–आफ्नो सास्कृतिक पहिरनमा आउने जनाइएको छ । महाधिवेशन प्रतिनिधिहरुलाई आवास महाधिबेशनको खर्च २५ हजार जना क्रियाशील सदस्यको शुल्क, सुभेच्छुकहरुले स्वविवेकले गर्ने सहयोग, प्रतिनिधिको दर्ता शुल्ककोे साथै प्रत्यक केन्द्रिय सदस्यले न्युनतम ५ हजारका दरले दिने सहयोग र निर्वाचनमा केन्द्रिय समितिका उम्मेदवारले बुझाउने मनोनोयन शुल्क (२ हजार देखि २५ हजारसम्म) संकलन गरिने प्रवक्ता पौडेलको भनाई छ । महाधिवेशनको अध्यक्षता दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले गर्ने जनाइएको छ ।