भीमफेदी–कुलेखानी सडकखण्डमा चलेन सुमो

तु खबर संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार ०८:१६
file-photo

मकवानपुर । हेटौंडाबाट संघीय राजधानी काठमाडौं जाने छोटो मार्ग भीमफेदी–कुलेखानी सडकखण्डमा आज बिहानैदेखि सुमो चलेको छैन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको कारण हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा आउने दुबै तर्फ सुमो नचलेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

यस्तै, बन्दका कारण पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ कान्तिलोकपथलगायतका सडकखण्डहरुमा सार्वजनिक सवारी साधन निकै कम चलेका छन् । हेटौंडाबाट संघीय राजधानी काठमाडौँ, नारायणगढ तथा मुग्लिनखण्ड, वीरगंज हुँदै गन्तव्यतर्फ प्रस्थान गर्ने यात्रुहरु सार्वजनिक सवारी कुरिरहेका छन् । हेटौंडा बजार क्षेत्रमा कार, मोटरसाइकल लगायतका सवारी चलिरहेका छन् । तर, ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् । बजार क्षेत्रका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

हालसम्म बन्दको क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनले नागरिकको सुरक्षालाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको बताउँदै र बन्दको हल्लाले आफैँ नागरिकहरुको चहलपहल कम भएतापनि पनि डराउनुपर्ने अवस्था नरहेको बताए ।