महाधिवेशनको बारेमा छलफल गर्न आज कांग्रेस बैठक बस्दै

तु खबर संवाददाता
२०७८ कार्तिक २८, आईतवार ०९:०८

काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्डमा बस्ने भएको हो । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, सो बैठकमा १४ औं महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने छ । यस्तै, पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, भोजन–आवास व्यवस्थापन समिति, अर्थ सङ्कलन समिति र स्वयंसेवक व्यवस्थापन समिति पनि गठन गरिने जनाइएको छ ।

महाधिवेशन मूल तयारी समिति सभापति देउवाको नेतृत्वमा हुनेछ भने पार्टीको नीति तथा कार्यक्रमम समिति संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने तयारी छ । यसअघि अधिवेशन सकाइएका वडामा पनि पटक पटक गरी अधिवेशनको मिति तोकिएको थियो । वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका सार्वजनिक गरेको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४–२६ काठमाडौंमा गरिने छ ।