रौतहटको यमुनामाईमा कार दुर्घटना, ४ जनाको मृत्यु

रौतहट । सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर ५ जुनखुनुवामा शनिबार राति १० बजेको समयमा भारतीय नम्बरप्लेटको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।
कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको उनले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको उनले बताए । उनले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।