मकवानपुरमा बढ्दो सवारी दुर्घटना, प्रशासनद्वारा न्यूनीकरणको प्रयास

तु खबर संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार ०८:३८

मकवानपुर । मकवानपुरमा बढ्दो सवारी दुर्घटना न्यूनिकरणको लागि जिल्ला प्रशासन कार्यालयले प्रयास थालेको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका विषयमा बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरोवालाहरुको बैठक बसी प्रयास थाल्ने निर्णय गरेको हो ।दुर्घटनामा मानवीय क्षति बढेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा सरोकारवालाहरुको बैठक बसी दुर्घटना न्यूनिकरणका लागि चेकजाँच, ट्राफिक नियमबारे सचेतनात्मक कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले मापसे चेकजाँच कार्यलाई नियमितरूपमा कडाईकासाथ कार्यान्वयन गर्ने र मापसे गरी सवारी साधन चालउने उपर तत्काल कानूनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । यसैगरी, सडक दुर्घटना सम्भावित क्षेत्रहरूमा सडक बत्ति, ट्राफिक संकेत तथा चिन्हहरू लगायतका पूर्वाधार यथाशीघ्र स्थापना गर्ने गर्ने, लामो दूरीका सवारी साधनहरूमा अनिवार्य रूपमा २ जना सवारी चालक राख्ने व्यवस्था सम्बन्धित यातायात व्यवसायी कम्पनीहरूले गर्ने र सोको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, बैठकले भैंसे–भीमफेदी–कुलेखानी–फाखेल र सिस्नेरी सडकखण्ड भई संचालन हुने सुमोहरूको हकमा टाईम कार्ड लागू गर्ने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । हेटौंडा बजार क्षेत्रमा चल्ने ई–रिक्सा र अटोहरु मुख्य राजमार्ग तथा सडकहरूमा प्रवेश गर्न नपाउने गरी सहायक सडकबाट मात्र थप व्यवस्थितरूपमा सञ्चालन गर्ने सम्बन्धमा वस्तु स्थित एवं सम्भाव्यता अध्ययनको लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको संयोजकत्वमा एक उप–समिति गठन गर्ने र सो समितिले आवश्यक अध्ययन गरी समिति समक्ष १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

समितिको सदस्यहरुमा हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौंडाका एक अधिकृत, यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाका एक अधिकृत,जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवापनुरका प्रहरी निरीक्षक प्रकाश पाण्डे, जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक सुमन बानियाँ र नेपाल अटो ई–रिक्सा व्यवसायी संघ, मकवानपुरका अध्यक्ष रहेको जिल्ला प्रशाासन कार्यलय मकवानपुरले जनाएको छ ।