बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

तु खबर संवाददाता
२०७८ कार्तिक २५, बिहीबार १३:४४
file-photo

मकवानपुर । बागमती प्रदेशमा आज (बिहिबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार, पाण्डेले माओवादी केन्द्र र कांग्रेसका एक/एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल र काँग्रेस संसदीय दलका सचिव नीमा लामालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्ने तयारी भएको स्रोतले जनाएको छ । उनीहरुको शपथ आजै साँझ ५ बजे गर्ने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेशका हाल कायम रहेको ८ मन्त्रालयमध्ये मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यालयसहित थप ४ मन्त्रालय सम्हाल्दै आएका थिए ।मुख्यमन्त्री पाण्डेले स्वास्थ्य मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका थिए । उनले यसअघि मुख्यमन्त्री नियुक्त भएकै दिन कात्तिक ११ गते ३ मन्त्री नियुक्ति गरेका थिए । यद्यपि प्रदेशमा मन्त्रिपरिषद् विस्तारले भने अझै पूर्णता पाउन सकेको छैन ।