३ वटा प्रदेशमा फेरिए प्रदेश प्रमुख

तु खबर संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १७:०५

काठमाडौं । प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख फेरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो । बैठकले प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जनाएको छ ।

यसअघि प्रदेश १ मा केपी शर्मा ओली सरकारले नियुक्त गरेका सोमनाथ अधिकारी प्यासी, कर्णाली प्रदेशमा ओली सरकारले नियुक्त गरेका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा ओली सरकार ले नै नियुक्त गरेको गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका थिए । प्रदेश संरचना कार्यान्वयनमा गएको ४ वर्ष नपुग्दै २४ जना प्रदेश प्रमुख फेरिएका छन् । पहिलो कार्यकाल पुरा नहुँदै अहिलेसम्म सात प्रदेशमा २४ जना प्रदेश प्रमुख फेरिएका हुन् । केही प्रदेशमा चार जनासम्म प्रदेश प्रमुख फेरिएका छन् ।