करेन्ट लागेर नेकपा एकीकृत समाजवादीका नगरसचिव गिरिजा अधिकारीको निधन

तु खबर संवाददाता
२०७८ कार्तिक २२, सोमबार १४:१८

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको करेन्ट लागेर आज निधन भएको छ । उनलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ राजदेवीमा बाटो खन्ने क्रममा तार पन्छाउने क्रममा करेन्ट लागेको थियो ।

अधिकारीलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा आजै ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा मेसु रामचन्द्र सापकोटाले पुष्टि गरे । अधिकारीको शव पोष्टमार्टमको लागि शव गृहमा राख्ने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् । अधिकारीको बुवा आमा, एक जना दाई र दुई जना दिदीबहिनीहरु छन् ।