रात्री बस काल बनेर आएपछि…

तु खबर संवाददाता
२०७८ कार्तिक २१, आईतवार १५:३१

मकवानपुर । शनिबार भाइटिकाको दिन, रातको ८ः३० बजेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १९ नेवारपानीमा देउसी भैलो खेलिँदै थियो । ७/८ घरलाई लक्षित गरेर  सो कार्यक्रम आयोजना गरिएको थियो । नेपाली लोक संस्कृति झल्कने पोशाकमा मर्यादित ढंगबाट देउसी भैलो देलिँदै थियो । चारैतिर स्थानीयको बाक्लो उपस्थिति थियो । देउसी भैलो समूहका सदस्यहरु  उत्साहित भएर आफ्ना प्रस्तुतीहरु देखाइरहेका थिए । ४ जना चेलीहरु ‘ए ए एनीलहै यानी माया’ बोलको गितमा नाच्दै गर्दा माहौल खुब जमेको थियो । तर, रमझमको माहौल एकैछिनमा भयावहमा परिणत भयो ।

पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडाबाट नारायणगढतर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी भैलो कार्यक्रममा सहभागी भएकाहरुको समूहलाई नै रात्री बसले ठक्कर दियो । त्यसरी समुहलाई नै ठक्कर दिएपछि स्थिति भयावह बन्न पुगेको हो । तीब्र गतिमा रहेको बसले सडकबाट अनियन्त्रित भई देउसी भैलो खेलिरहेको उक्त समूहलाई ठक्कर दिएको थियो । हेटौंडा १९ नेवारपानी निवासी २० बर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ बर्षका प्रेमबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भयो । अन्य ८ जना घाइते भए ।

आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गरे । आगजनीबाट बस  पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणको लागि हेटौंडा उपमहानगरपालिकाबाट दमकल ल्याइएको थियो । स्थानीयले दलकलमाथिसमेत ढुंगामुढा गर्न थालेपछि दलकलको केहीभागमा समेत क्षति पुगेको छ । बस चालकको चरम लापर्वाहीका कारण आक्रोशित स्थानीयले ढुंगामुढा गर्न छाडेनन् । प्रहरीले घटनालाई नियन्त्रणमा लिन लाठिचार्ज गर्यो । स्थानीयहरु प्रहरीमाथि नै जाइलागे । सोही क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालको अनुहारमा चोट लागेको छ ।

अन्तत प्रहरीले घटनालाई नियन्त्रणमा लियो । बसका चालक रौतहटको चन्द्रपुर –६ बस्ने अमितकुमार कार्कीलाई प्रहरीले राति नै नियन्त्रणमा लिन सफल भयो । चालक कार्कीले मदिरा सेवन नगरेको प्रहरीले जनाएको छ । बस सडक सिमा भन्दा बाहिर अनियन्त्रित भई कसरी गयो भन्ने विषयमा प्रहरीले चालकसंग सोधपुछ गरिरहेको जनाएको छ । घाइते भएका ८ जनानै उपचारपछि घर फर्किएका छन् । मृतक २ जनाको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालस्थित शव गृहमा राखिएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।