मकवानपुरमा राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

मकवानपुर । मकवानपुरमा राति ८ बजेसम्म मात्र देउँसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै राति ८ बजेपछि देउँसी भैलो नखेल्न भनिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरीत सूचनामा सो कुराको जानकारी गराइएको छ ।
यस्तै, प्रशासनले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या घटेपनि जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यको पालना गरी तिहार तथा छठ पर्वलगायतका चाडपर्व मनाउँन आग्रह गरेको छ ।साथै प्रशासनले तिहार र छठ पर्व मनाउने क्रममा पड्का, भुँईचम्पा, आतिशबाजी नगर्न पनि आग्रह गरिएको छ ।
कोभिड–१९ को संक्रमितहरुको संख्या घटेको देखिएपनि संक्रमणको जोखिम कायमै रहेकोले तिहार तथा छठ पर्वहरुमा जनस्वास्थयका मापदण्डको पालना गरी चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । पटकाजन्य पदार्थको ओसार–पसार, विक्री वितरण तथा प्रयोगमा पूर्णरुपमा बन्देज गरिएकोले त्यस्ता गतिविधि नगर्न नगराउँन निर्देशन गरिएको र गरेको पाइएमा कानून बम्मोजिम कारबाही हुने पनि प्रशासनले चेतावनी दिएको छ ।