विभिन्न पार्टी परित्याग गरी २१५ जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ कार्तिक १३, शनिबार १०:१८

मकवानपुर । मकवानपुरको हेटौंडामा नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २१५ जना नपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार बिहान कांग्रेस हेटौंडा उपमहानगरपालिकाले शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान  कार्यक्रममा घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष ध्रुब घिमिरे, नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य विष्णुगोपाल महर्जनसहित २१५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रम कांग्रेस हेटौंडा नगर सभापति  उत्सव इटेनीको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष डीनाको प्रमुख आतिथ्यता एवम् नेपाली कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको विशेष आतिथ्यतामा भएको हो । नवप्रवेशीहरुलाई प्रमुख अतिथि डीना र विशेष अतिथि बानियाँले टिका र खाता लगायत पार्टीमा स्वागत गरेका थिए ।

सो क्रममा प्रमुख अथिति उपाध्याय डीनाले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको र सो निर्वाचनमा कांग्रेस एक ढिक्का भई लाग्नुपर्ने बताउँदै कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आ–आफ्नो क्षेत्रमा अघि बढ्न आग्रह गरिन् । यस्तै, कार्यक्रमका विशेष अतिथि बानियाँले पार्टीलाई थप सुदृढीकरण र मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नजिकिँदै गरेको शुभदिपावली, छठ पर्व, नेपाल सम्वतको शुभकामना दिए । साथै उनले कोरोना महामारीको जोखिम अझै पनि रहेको बताउँदै पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरी चार्डपर्व मनाउन आग्रह गरे ।

कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, नेपाली कांग्रेस मकवानपुरका उपसभापति बिष्णु लामिछाने, प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, जिल्ला सचिब बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल बिश्वकर्मा, प्रबक्ता प्रदिप कोइराला, नेबि संघका केन्द्रीय महासचिव प्रभात दाहाल, जिल्ला सल्लाहकार उमा दाहाल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं रेडियो नेपालका उपनिर्देशक नवराज लम्साल, जिल्ला कार्यसमितिका पदाधिकारी, कार्यसमिति सदस्य लगाएत विभिन्न भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।