अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको बताइएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा तथा बाढीपहिराले पु¥याएको जनधन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
उहाँहरुबीच पुनःस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । सो अवसरमा मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारको ध्यानाकर्षण समेत गराएका थिए । यस्तै, भेटमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन २०२१ (कोप २६) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको थियो ।
