भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो
काठमाडौँ । डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहु खर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन । बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन । पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । बाटो खुलेपछि तीन दिनदेखि अलपत्र परेका सयौँ सवारीसाधन गन्तव्यतर्फ गएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । अविरल बर्षाका कारण देशका विभिन्न जिल्लाका सडकहरु पनि अवरुद्ध बन्न पुगेका छन् । विहिबारबाट भने मौसममा क्रमश सुधार आएपछि पहिलो अवरोध हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको छ । बर्षाका कारण आएको बाढी पहिरोमा परी हालम्म १०४ जनाको मृत्यु भइसकेको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको गृहमन्त्रालयको तथ्याङ्क छ । साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।
