‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो’

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार १७:४४
file-photo

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्र्टीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्नेमा ३९ दिन भइसकेको बताए ।

मुख्यमन्त्रीमा प्रस्तावितसमेत रहेका पाण्डेले संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए । उनले वर्तमान मुख्यमन्त्री सत्तामा टाँसिएर बस्न खोजेको आरोप लगाए । उनले शाक्यलाई विश्वासको मत दिन नसकिने बताउँदै अब प्रतिगमनकारीहरुको चाँडै अन्त्य हुने बताए । मुख्यमन्त्री शाक्यले प्रतिगमनकारीकै पक्षमा उभिएर मुख्यमन्त्रीको भूमिका निर्वाह गरिरहेको भन्दै उनले आफूहरु पनि प्रतिगमनकै पक्षमा रहेको भए मुख्यमन्त्रीलाई विश्वासको मत दिइन्थ्यो तर आफूसहितको गठबन्धन अग्रगमनको पक्षमा, यो व्यवस्था र संविधानको पक्षमा भएकाले विश्वासको मत दिन नसकिने प्रस्ट पारे । उनले भने, ‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो ।’

आफूहरुले नै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर शाक्यलाई प्रस्तावित मुख्यमन्त्रीका रुपमा अघि सारेको स्मरण गराउँदै पाण्डेले भने, ‘अहिले मुख्यमन्त्री शाक्य नै डोरमणि पौडेलको सरकारले गरेको उपलब्धि सुनाउँदै हुनुहुन्छ ।’ मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।

आजको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।