‘सत्ताधारी दलको मात्रै जनमत, हाम्रो चाँही सालको पात ?’

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १७:१०

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराज जम्कट्टेलले नेकपा एमालेले दम्भ र अहंकार मात्रै प्रदर्शन गरेकोले सर्वोच्च अदालतले गलहत्याएर निकालेको टिप्पणी गरेका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले सत्ताधारी एमालेले आफुहरुमात्रै जनमत प्राप्त दल भएको भन्दै अहंकार प्रदर्शन गर्नु गलत भएको बताए ।

उनले भने ‘ एमालेमा केपी ओली प्रवृत्ति हावी भएको छ । जसरी हुन्छ हेप्ने, चेप्ने, सकेसम्म यो व्यवस्था र संविधान ध्वस्त पार्न खोज्ने, संसद् र संविधानमाथि नै आक्रमण गर्ने अनि संयुक्त गठबन्धनबाट बनेको प्रधानमन्त्रीलाई परमादेशको सरकार भन्ने, यो उहाँको कस्तो राजनीतिक संस्कार हो ?’ ‘एमालेले पाएको चाँही जनमत, अनि हामीले पाएको चाँही सालको पात हो त ? उहाँले मात्रै जनमत पाएको भए, किन छाडेको त सरकार?, पुर्याउनुस् न त बहुमत’ उनले थपे ।

जनमतकै आधारमा सर्वोच्च अदालतबाट परमादेश जारी भएको बताउँदै उनले संयुक्त गठबन्धन संविधान र लोकतन्त्रको रक्षाको लागि निर्माण भएको दावी गरे ।उनले मुख्यमन्त्री शाक्यलाई आफुहरुले विश्वासको मत नदिने बताए । उनले भने, हामीले उहाँलाई विश्वासको मत दिनुपथ्र्यो, तर उहाँ प्रतिगमनको पक्षमा उभिनुभएको छ । त्यसकारण दुःखका साथ भन्नुपर्छ उहाँलाई हामीले विश्वासको मत दिन सक्दैनौँ, उनले भने ।

उनले मुख्यमन्त्री शाक्यलाई पनि राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । यसअघि मुख्यमन्त्री शाक्यले करिब साढे ३ बर्षे एमाले नेतृत्वको कार्यकालमा भएका कामको समिक्षा गरेकी थिइन् । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।

आजको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।