माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी, एमालेको ३ बजे

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार १०:३७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको छ । बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत मंगलबार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न आयोगहरु गठन गरेको थियो ।

माओवादी केन्द्र आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ । त्यस्तै स्थायी कमिटीको बैठकमा प्रदेश नं १ र बागमती प्रदेशसमा नयाँ सरकार बनाउने विषयमा पनि छलफल हुने जनाइएको छ । त्यस्तै नेकपा एमालेको स्थायी कमिटीको बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने भएको छ । बैठकमा पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल हुने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आजको बैठकमा विधान महाधिवेशनको समीक्षा र अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे पनि छलफल हुने जानकारी दिए । एमालेले आगामी ६ गतेदेखि वडा अधिवेशन र कात्तिक ९ गतेदेखि पालिका अधिवेशन गर्ने तालिका बनाएको छ । एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरेको थियो । विधान महाधिवेशन समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने घोषणा गरेका थिए ।