समीकरण मिलाउन बालुवाटारमा बैठक: बागमतीमा इन्द्र कि राजेन्द्र ?

तु खबर संवाददाता
२०७८ कार्तिक ३,बुधबार १८:२९

मकवानपुर । बागमती प्रदेशसभाको भोलि बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि तय भएको छ । शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

सो प्रस्तावमाथि भोलि बस्ने बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री एमाले ५६ सांसदबाट ४३ सांसदमा खुम्चिन पुगेको छ ।

सत्ता गठबन्धनको साथ नपाउँदा मुख्यमन्त्री शाक्यले अन्य स–साना दलको साथ पाए पनि उनले विश्वासको मत पाउने संभावना रहँदैन । अर्थात् उनको नेतृत्वमा सरकार टिक्ने देखिँदैन । अब, बागमती प्रदेशमा सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । बागमतीमा सरकारको नेतृत्व कुन दलले गर्ला भन्ने विषयलाई चासोको रुपमा हेरिएको छ ।

सोही विषयमा निचोड निकाल्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनको बैठक जारी रहेको बालुवाटार स्रोतले बताएको छ । बैठकमा प्रधामन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव सहभागी भएको थाहा लागेको छ ।

बैठकमा प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनबीचको सत्ता समीकण मिलाउने प्रयास भइरहेको छ । सो बैठकले मुख्यमन्त्री कांग्रेसले पाउने कि नेकपा एकीकृत समाजवादीले भन्ने विषयमा निर्णय गर्नेे जनाइको छ । बैठकले प्रदेश १ मा पनि कसको नेतृत्वमा सरकार बन्ने र मन्त्रालयको भागबण्डा पनि टुंगोमा र्पुयाउने तयारी गरेको छ । यस्तै, कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्नेदेखि लुम्बिनी र सुदूरपरिश्चम प्रदेशको सत्ता समीकरणको विषयमा पनि छलफल हुने जनाइएको छ ।

बागमतीमा कांग्रेसको २२ सांसद छन् भने एकीकृत समाजवादीको १३ सांसद् छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका कांग्रेसका प्रभावशाली नेता इन्द्र बानियाँ र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्रीको रेसमा छन् । सत्ता गठबन्धनले कुन दललाई बागमतीको नेतृत्व दिने भन्ने सन्दर्भमा निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने कांग्रेसका एक सांसदले जानकारी दिएका छन् ।

बैठक सार्न एमालेको पत्र

भोलि कात्तिक ४ गते बस्ने प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयलाई आग्रह गरेको छ । लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो । बैठक ११ गतेका लागि बोलाउन एमालेले लिखित प्रस्ताव गरेको तु खबर स्रोतले जानकारी दिएको छ ।

कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न सो दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका हुन् । मुख्यमन्त्री शाक्यको भोलि हुने विश्वासको मत टार्नको लागि नेकपा एमालेले आज बैठक सार्ने प्रस्ताव गरेको हो ।