मुगुमा भएको बस दुर्घटनाबारे छानबिन गर्न प्रहरीद्वारा समिति गठन

तु खबर संवाददाता
२०७८ आश्विन २८, बिहीबार १५:४०

काठमाडौँ । मुगुमा गएको मंगलबार भएको बस दुर्घटनाबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । बस दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको सो कार्यालयले जनाएको छ ।

उक्त समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य रहेको जनाइएको छ ।नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नंको उक्त बस मङ्गलबार जुम्ला९मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेश गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने प्रहरीको भनाई छ । बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो भन्नेबारे समितिले अध्ययन गर्ने प्रहरीले जनाएको छ ।