स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा

तु खबर संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १७:३४
file-photo

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा चयन भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २५ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेसँगै स्वास्थ्य मन्त्रीमा खतिवडा चयन भएका हुन् ।

यसअघि देउवा नेतृत्वकै सरकारले स्वास्थ्य मन्त्रीमा चयन गरेको उमेश श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको राज्यमन्त्रीमा चयन गरेका छन् । मन्त्री खतिवडाले यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने बताइएको थियो । खडिवडासँगै एकीकृत समाजवादीबाट ४ मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी भएका छन् ।

एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठ मन्त्री बनेका छन् भने भवानी प्रसाद खापुङ राज्यमन्त्री बनेका छन् । त्यस्तै, सो पार्टीबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीले पाएकी छन् । यसअघि झाँक्रीले स्वास्थय तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने बताइएको थियो । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी कृष्णप्रसाद श्रेष्ठ (किसान) ले पाउने भएका छन् । यसैगरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ भएका छन् ।