कपिलवस्तुमा झाडापखाला प्रकोपः दुई जनाको मृत्यु, एक सयबढी बिरामी

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । त्यस्तै, झाडापखालाका कारण एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । कृष्णनगरपालिका वडा नम्वर ७, ८ र ९ मा झाडापखालाको बढी प्रकोप देखिएको जनाएको छ ।
कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप छ । अस्पतालमा झाडापखालाका ९० भन्दा बढी व्यक्ति उपचाररत छन् । बिरामीको चाप बढेपछि एउटा बेर्डमा दुई जनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गर्नु परेको शिवराज अस्पतालले जनाएको छ ।
झाडापखलाबाट एउटै गाउँका ६२ जनासम्म बिरामी परेका छन् । बिरामीहरु धेरैजसो बालबालिकाहरु छन् । गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको जनाइएको छ । दूषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरिएपनि के कारणले फैलिएको हो खुल्न नसकेको जनाएको छ । जिल्ला अस्पतालबाट चिकित्सकको विज्ञ टोली शिवराज अस्पताल पठाइएको छ ।