इटालीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

एजेन्सी
२०७८ आश्विन १८,सोमबार १०:०७
File Photo

इटाली । उत्तर इटालीको सहर मिलानमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एउटा निजी विमान इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार ८ जनाको मृत्यु भएको हो । इटालियन मिडियाका अनुसार, दुर्घटनामा विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु, उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।

सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो । तर, जमिनमा रहेका कोही पनि घाइते भएनन् । दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन् । बीबीसी