उत्पीडित जातीको उत्थानको लागि माओवादीले मुक्तिमोर्चा बनाएको हो : मोक्तान
मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले वर्गीय मुक्तिसँगै जातीय मुक्तिको आवश्यक ठानेर आफ्नो पार्टीले उत्पीडित जातीको लागि मुक्ति मोर्चा बनाएको बताएकी छिन् । बुधबार नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा मनहरी गाउँपालिकाद्वारा आयोजित तामाङ सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज मोक्तानले सो कुरा बताएकी हुन् ।
उनले ब्राह्मणवादी सोच चिन्तन बाहुन भएर होइन, मास्र्कवादी भएर प्रचण्डलाई सहयोग गरेको बताइन् । सो क्रममा उनले भनिन्, ‘समानुपातिक व्यवस्था ठिक छैन भन्दैछन्, एमाले र कांग्रेसले जनजाती दलित समुदाय राज्यको मुलधारमा आएको पटकै मन पराएको छैन । व्यवस्था उत्पीडित समुदायको लागि आएको हो तर, हिजोकै सामान्तीहरुको हालीमुहाली भएको छ ।’
नेकपा माओवादी केन्द्र निकट नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा मनहरी गाउँपालिका कमिटीको प्रथम सम्मेलनबाट बाबुराम थिङ्ग (बाबु) को अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठनको घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा हिरालाल पाख्रिन, जयराम मुक्तान र बलिराज गोङ्बा, सचिवमा प्रेमबहादुर मुक्तान, सह–सचिवमा शिव चन्द्र गोले र कोषाध्यक्षमा बिनिता पाख्रिन चयन भएका छन् ।

माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संयोजक बाबु थिङ्गको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश कमिटीका सदस्य ओमबहादुर ग्लान, बिरबहादुर घलान (ज्वाला), मनहरी इन्चार्ज राजकुमार पाख्रिन, राक्सिराङ्ग इन्चार्ज बनस्तम थिङ, पार्टीका जिल्ला सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य लिलाकुमार घलान, पार्टीका जिल्ला सदस्य हिरालाल स्याङ्गतान, बिशाल लामा तितुङ्ग, मनहरी गाउँपालिका कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला सल्लाहकार खुशीलाल मोक्तान, बुद्धरत्न तितुङ्ग, वाइसियल केन्द्रिय सदस्य अनिता स्याङ्गबो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

