एकीकृत समाजवादी युवा संघ मवानपुरको अध्यक्षमा बल

तु खबर संवाददाता
२०७८ आश्विन ११,सोमबार १५:५०

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ मकवानपुरको जिल्ला कमिटी घोषणा भएको छ । शनिबार एकीकृत समाजवादी मकवानपुरले आयोजना गरेको शपथ ग्रहण तथा कार्यकर्ता भेलामा केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा युवा संघ मकवानपुरको घोषणा गरेको हो ।

घोषित जिल्ला कमिटीको आइतबार शपथ ग्रहणसमेत सम्पन्न भएको छ । युवा संघ मकवानपुरको अध्यक्षमा किरणमान बल चयन भएका छन् । अध्यक्ष बल थाहानगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष समेत हुन् । बलको नेतृत्वमा १५१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको हो ।

यस्तै, युवा संघ मकवानपुरको उपाध्यक्षमा क्रमशः लिसेन बस्नेत, सफल अधिकारी र निकेश लामा चयन भएका छन् भने सचिवमा सगुन स्याङ्तान र सह–सचिवमा मन्जिता केसी चयन भएका छन् । अध्यक्ष बलले केन्द्रीय नेतृत्वको मार्गनिर्देशन अनुसार तत्काल जिल्लाभर संगठन सुदृढिकरणको अभियान सुरु गर्ने बताए ।

उनले संगठन र पार्टीलाई बलियो शक्ति बनाउन युवाहरुको महत्वपूर्ण योगदान रहने भन्दै जिल्लाका सबै स्थानीय तहमा पुगेर युवाहरुको योजनाहरु समेट्दै संगठन निर्माण र सुदृढिकरण अभियान सुरु गर्ने बताए । पार्टीको विधिविधान र केन्द्रीय कमिटीले दिएको निर्देशन र योजना अनुसार सम्पूर्ण जिल्ला कमिटीको सहयोगमा सक्रिय सहभागितामा युवाहरुलाई राजनीतिक प्रशिक्षण दिने उनको भनाई छ ।

उनले जिल्लामा उत्पादनमा युवा प्रोत्साहन गर्नुका साथै युवाहरुका लागि समाजवाद उन्मुख कार्यक्रमहरु संचालन गर्ने र उद्यमशीलतालाई वृद्धि गर्ने बताए । स्वाभिमान युवा र स्वावलम्वी युवा बनाउने अभियान संचालन गरी श्रममा युवा शक्तिको प्रयोगलाई प्राथमिकता दिने उनको भनाई छ । साथै अध्यक्ष बलले युवाहरुमा देशभक्ति भावना जनाउने प्रकृतिका कार्यक्रमलाई प्राथमिकतामा राखी सुशासन र भ्रष्टाचार न्यूनिकरणका लागि विभिन्न योजना बनाई योजनाबद्ध काम गर्ने बताए ।