प्रदेश युवा परिषद् उपाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति निर्माण
मकवानपुर । बागमती प्रदेश युवा परिषद्को बुधबार हेटौंडामा सम्पन्न पहिलो पूर्ण बैठकले ५ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । परिषद्को नियमित काम कारबाही चुस्त र प्रभावकारी बनाउन उपाध्यक्ष चौँलागाईको संयोजकत्वमा कार्यकारी समिति निर्माण गरिएको हो । समितिमा सामाजिक विकास मन्त्रालयका युवा महाशाखा प्रमुख, युवा परिषद् कार्यालयका प्रमुख र परिषद्को १७ सदस्यीय समितिबाट २ जना कार्यकारी समितिको सदस्यमा चयन भएका छन् ।
प्रदेश युवा परिषद्का अध्यक्ष तथा सामाजिक विकासमन्त्री बिजय सुवेदीको अध्यक्षता तथा सामाजिक विकास राज्यमन्त्री जुनेली माया श्रेष्ठ र मन्त्रालयका निमित्त सचिव रुद्रहरी भण्डारीको विशेष उपस्थितिमा भएको बैठकले प्रदेशभरीका आम युवाहरुको हकहितका लागि विभिन्न निर्णय गरेको छ । बैठकले विशिष्ट युवा प्रतिभा प्रोत्साहनका कार्यक्रम गर्ने, युवा मैत्री स्थानीय तह प्रवोधिकरण कार्यक्रम सञ्चालन गर्ने, युवा सञ्जालहरुको गठन तथा अभिमुखिकरण गर्ने, सिप मुलुक तालिमहरु संचालन गर्ने, अर्गानिक कृषि उत्पादनमा जोड दिने, लागु पदार्थ दूव्र्यशनी तथा साइबर क्राइमबारे सचेतना फैलाउने लगायतका कार्ययोजना तयार गरेको छ ।
त्यस्तै चेलिबेटी बेचबिखन घरेलु हिंसा तथा लैङ्गकि विभेद सामाजिक कुरिती र यौनिक अल्पसंख्यकको विषयमा सचेतता कार्यक्रम सञ्चालन गर्ने, युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, अपांङ्ग युवा व्यवसायी सामग्री सहयोग तयार गर्ने, विभिन्न खोजमूलक अनुसन्धान, युवाका तथ्यांक संकलन सफ्टवेयर निर्माण प्रवोधिकरण गर्ने, युवा प्रतिभा पहिचान गर्ने, यौनिक अल्पसंख्यकका लागि कार्यक्रम प्रस्तावको आधारमा कार्यक्रम लगायतका योजना तयार पारिएको उपाध्यक्ष चौँलागाईले बताए ।
साथै युवा स्वयंसेवक तालिम सञ्चालन गर्ने, युवा महिला उद्यमशीलता प्रर्वधन कार्यक्रम गर्ने, स्थानीय तहको समन्वय तथा संघ संस्थाको सहकार्यमा युथ ईन्नोवेशन तथा ईनक्युवेसन कार्यक्रम संचालन गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रलगायत युवा विकास कार्यक्रमहरुको बिषयमा निर्णय गरिएको उनले बताए । उनले चाँडै प्रदेशको १३ वटै जिल्लामा युवा परिषद्लाई पूर्णता दिइने समेत बताए । प्रत्येक जिल्लामा अध्यक्ष, उपाध्यक्ष र प्रदेश निर्वाचन क्षेत्रको संख्या कति हो, सोही अनुसार सदस्य थप गरिने जानकारी दिए ।


