युनिलिभर चिया प्रकरण: अनुसन्धान सकेर मुद्धा अघि बढाउन सिडिओ पाण्डेको निर्देशन
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले युनिलिभरको म्याद गुज्रिएको ‘रेड लेबल’ चिया प्रकरणबारे आवश्यक अनुसन्धान सकेर सरकारी वकिलमार्फत मुद्धा अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरलाई निर्देशन दिएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरोकारवाला निकायका प्रतिनिधिहरुबीच भएको छलफलमा सिडिओ पाण्डेले सो विषयमा अनुसन्धान प्रक्रिया सकाएर सरकारी वकिलमार्फत आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएका हुन् । उनले सो अनुगमन खाद्य कार्यलयले गरेको र सिडिओ कार्यालयसमक्ष सिलबन्दीको लागि प्रतिनिधि मात्रै माग भएकोले खाद्य कार्यालयले नै आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेसमेत बताएका छन् ।
‘जिल्लामा रहेको खाद्य तथा गुण नियन्त्रण कार्यालयले त्यो चियालाई नष्ट गर्नुपर्ने सन्दर्भमा जिल्ला सरकारी वकिल मार्फत मुद्दा दायर गर्नुपर्ने हुन्छ । त्यो मुद्दाको प्रकृति कस्तो हुन्छ भने अलिकति ठूलो प्रकृतिको भयो भने जिल्ला अदालतमा जान्छ, थोरै बिगो भयो भने प्रमुख जिल्ला अधिकारीले त्यो मुद्दा छिन्ने हो ।’ उनले भने ।
‘अहिले यो विषय अनुसन्धानकै क्रममा छ, अनुसन्धान अधिकृतले अनुसन्धान गरेर प्रमाणका आधारमा मुद्दा दायर गर्ने हो । त्यो मुद्दा जिल्ला सरकारी वकिलमार्फत आउँछ र सुनुवाई प्रक्रियामा जान्छ । त्यसका आधारमा त्यसलाई नष्ट गर्ने वा नगनेबारे निर्णय हुने हो । अब हामीकहाँ मुद्दा आएमा हामीले निर्णय गर्छौँ, जिल्ला अदालतमा गयो भने अदालतले निर्णय गर्छ ।’ उनले थपे ।
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो विषयमा अध्ययन गर्न अनुसन्धान अधिकृत तोकेको छ । कार्यालयले खाद्य निरिक्षकलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । यसअघि कार्यालयले बरामद भएको म्याद गुज्रिएको चियापती परिक्षणको लागि खाद्य अनुसन्धान तथा गुण नियन्त्रण विभाग समक्ष नमुना पठाएको थियो । विभागले स्थलगत मुचुल्काको आधारमा आवश्यक कारबाही अघि बढाउन निर्देशनसमेत दिएको थियो । साथै कार्यालयले युनिलिभरका प्रतिनिधिलाई बयानका लागि कार्यालयमा हाजिर हुन ७ दिनको म्याद दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अनुगमन टोलीले गत भदौ १५ गते युनिलिभरको चिया प्रशोधन केन्द्रमा फेला पारेको चियापत्तीको उत्पादन मिति सन् २०१९ उल्लेख छ । सो चियापत्ती सन् २०२० को जुन महिनाभित्र प्रयोग गरिसक्नुपर्ने हो, तर अहिले २०२१ को अन्तिमसम्म पनि सो चियापती युनिलिभरले रि प्याकेजिङ गरी विक्रिवितरण गर्ने उद्देश्यका साथ भण्डारण गरेर राखेको छ ।
अनुसन्धान अधिकृतले खाद्य ऐन अनुसार अनुसन्धान गरी प्रतिवेदन तयार पारेर सोही प्रतिवेदनको आधारमा प्रजिअले मुद्दा प्रक्रिया अघि बढाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजाल बताउँछन् । खाद्य ऐन अनुसारको अनुसन्धान प्रक्रिया लामो हुने भएकाले केही समय लाग्ने र तत्काल मिडियामा यसबारे कुनै पनि अभिव्यक्ति नदिने उनले बताए । युनिलिभरको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै पत्रकारहरूलाई तत्काल कुनै पनि प्रकारका समाचार प्रकाशन नगर्न उनले आग्रह गरे ।
