एमाले नेता गोलेसहित २४ जना कांग्रेसमा प्रवेश
मकवानपुर । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बागमती गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष पदका उम्मेदवार हर्कबहादुर गोलेसहित विभिन्न पार्टी परित्याग गरी २४ जना कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बागमती गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा पार्टी सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उनीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानको रक्षाका लागि कांग्रेसको भूमिका विगतदेखि नै महत्वपूर्ण रहेको बताए । उनले स्थानीय क्षेत्रबाटै कांग्रेसका कार्यकर्ता जागरुक भएर जनचेतना अभिवृद्धिको कार्यक्रम संचालन गर्नुपर्ने पनि बताए । अधिवेशनमा होमिएको कांग्रेसले संगठन विस्तारको अभियानलाईसमेत तीब्रताका साथ अघि बढाएको बताउँदै उनले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले मकवानपुरका सबै स्थानीय तहको नेतृत्व गर्ने जिकिर गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु अमृता थापा मगर, सुशान्त श्रेष्ठ, इन्दिरा न्यौपाने, भीमसेन महत, भरत पराजुली, महासमिति सदस्यहरु दामोदर सुवेदी, धर्म लामिछाने, उर्मिला पुलामीे, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, महिला नेतृ अञ्जना उपाध्यायलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



