कोरोना महामारीकाबीच व्यवसायिक हितका थुप्रै काम भए – अध्यक्ष कटुवाल
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले कोरोना संक्रमणको जोखिमका कारण सरकारले विभिन्न समयमा गरेको लकडाउनबाट उद्योगी व्यवसायीहरु मर्कामा परेको बताउँदै उनीहरुको व्यवसायिक सुरक्षाको लागि सरकारले ठोस कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन् । तु खबरसंगको कुराकानीमा अध्यक्ष कटुवालले लामो समयको बन्दाबन्दीका कारण मकवानपुरका उद्योगी व्यवसायी पनि धराशायी बन्दै गएको भन्दै बैंकको ब्याज छुट तथा कर छुटजस्ता व्यवसायिक हितका कार्यक्रम अघि सार्न सरकारसमक्ष आग्रह गरे ।
२०७४ पुस १७ गते उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा कार्यभार संम्हालेका कटुवालले लकडाउनका कारण सोचेजस्तो काम गर्न नसकेपनि व्यवसायिक हितका लागि उल्लेख्य काम गरेको स्मरण गरे । ‘संघले दक्षिण कोरियाको किम्हे माईग्रेन्ट हाउससंग द्विपक्षीय सम्झौता गरी आधुनिक प्रविधि, लगानी र आवश्यक जनशक्ति भित्र्याउने विषयमा द्विपक्षीय सम्झौता गरेको थियो ।
सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्षको हैसियतमा मैले र किम्हे माईग्रेन्ट हाउसको तर्फबाट अध्यक्ष यज्ञराज सुवेदीले हस्ताक्षर गर्नुभएको थियो ।’ उनले सम्झिए । दक्षिण कोरिया र नेपालबीच व्यवसायिक वातावरण तयार गर्ने विषयमा छलफल भएको थियो । कृषिको क्षेत्रमा पनि उल्लेखनीय काम गर्ने गरी हामीले तयारी गरेका थियौँ । विभिन्न तामिलको अवसर पनि थियो । तर, कोरोनाका कारण सोचेजस्तो गर्न पाएका छैनौँ, उनले भने ।
संघले ५ करोडको लागतमा ३० कोठे आवासीय पल्पसा सदन निर्माण गरेको छ । केही दिनभित्रै संचालनको तयारीमा रहेको सो सदन प्रयोग गर्ने व्यवसायी र संचारकर्मीलाई परिचयपत्रको आधारमा २० प्रतिशत छुटको व्यवस्था मिलाइएको र अन्य नागरिकलाई पनि सहुलियत गरिने उनले बताए । कार्यालयको कर्मचारी व्यवस्थापन तथा खर्च कटौतीका सन्दर्भमा पनि कटुवाल नेतृत्वको कार्यसमिति अब्बल देखिएको छ । संघको नेतृत्वमा २१ वटा संघसंस्था मिलेर कोरोनाबाट प्रभावित आम नागरिक र व्यवसायीका लागि ३० वेड क्षमताको पल्पसा आइसोलेसन संचालन गरिएको कटुवालले बताए ।
२ जना चिकित्सक र ४ जना स्वास्थ्यकर्मीको उपस्थितिमा संचालन गरिएको सो आइसोलेसनबाट हजारौँ संक्रमित लाभान्वित भएका छन् । त्यस्तै संघले परिचय पत्रका आधारमा व्यवसायीलाई स्वास्थ्य उपचारमासमेत छुटको प्रबन्ध मिलाएको छ । कोरोना उपचारको लागि तयार गरिएको कोषमा अझै ९ लाख रहेको उनको भनाई छ । संघले स्वास्थ्य केन्द्रहरुमा अक्सिजन सिलिण्डर र कन्सन्टे«टर पनि वितरण गरेको छ । बजार प्रवेश गर्ने नाकाहरुमा सेनिटाइज टनेल र अस्पतालहरुमा सेनिटाइज मेसिन स्थापना गरेको पनि उनले बताए ।
कटुवाल नेतृत्वकै कार्यसमितिको पहलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी कृषि उद्यम तथा अनुसन्धान केन्द्रको सभापति बनेका छन् । उनको कार्यकालमा मकवानपुरमा थुप्रै उद्यमशील कार्यक्रम संचालन हुने कटुवालको बुझाई छ । त्यस्तै जीवनकाजी मकाजु श्रेष्ठ प्रदेश सदस्य र उत्तम शर्मा ढकाल उनकै कार्यकालमा प्रदेशको आमन्त्रित सदस्य बने ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र अन्य विभिन्न संघसंस्थाहरुलाई संस्थागत सहयोग उपलब्ध गराइएको उनले सम्झिए । २०७५ मा महोत्सव आयोजना गरी यहाँको व्यवसायिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा टेवा पुर्याइएको उनले बताए ।
लकडाउन अवधिमा व्यवसायीहरुलाई १ महिनाको भाडा छुट, संघमा गरिने नविकरण शुल्कमा छुटका साथै हेटौंडा उपमहानगरपालिकासंगको समन्वयमा बसपार्क क्षेत्रका २ सय ५३ व्यवसायीलाई ४१ दिनको भाडा छुट गरिएको उनले बताए । लेखासम्बन्धी तालिम, जुत्ता तथा चुरा बनाउने तालिम, महिलाहरुका लागि व्यूटिसियनलगायतका थुप्रै तालिम संचालन गरेको समेत उनले स्मरण गरे । साथै संघको अधिवेशन ७,८ र ९ गतेको लागि तय भएको छ । अधिवेशनको तयारी भइरहेको उनले जानकारी दिए ।

संघले किम्हे माईग्रेन्ट हाउससंग द्विपक्षीय सम्झौता गर्दै
