राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा दाहाल

तु खबर संवाददाता
२०७८ भाद्र ३०,बुधबार १७:२८

मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरको आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले धर्मेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै समूहको सदस्यहरुमा मिना श्रेष्ठ, बिक्रमकुमार बानियाँ, दिलबहादुर लामा, अनिष चौँलागाई, सुशन लामिछाने र राजन कटुवाललाई चयन भएका छन् ।
अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकारिता र आमसंचारका माध्ययमले नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए ।

समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै सत्यतथ्य सूचना सम्प्रेषण गर्न पत्रकार जगतले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए । उनले आफु पनि पत्रकारहरुसंगै रहेको बताउँदै उपमहानगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने समेत बताए । त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल र समूहका बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई सक्रियतापूर्वक फोटो पत्रकार र आम श्रमजिवी पत्रकारको हितमा काम गर्न सुझाव दिए ।

सोही अवसरमा अधिवक्ता एवम् पत्रकार ऋषि केबीको स्वर्गीय पिता रामहरि केशीको स्मृतिमा ‘स्वर्गीय रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७’ स्थापना गरिएको छ । समूहले यस बर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगद २ हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको हो । स्वर्गीय केबीको बुहारी पुन्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समूहका अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा भएको हो ।