एमालेको नेतृत्व गलत हुँदा एकता सफल हुन सकेन : पाख्रिन

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार १६:५९

मकवानपुर । नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका वडा नम्वर ६ को आयोजनामा वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेला नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा भएको हो ।

मंगलबार कैलाश–६ मजुवामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पाख्रिनले आफ्नो पार्टी उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, गरिब, सुकुम्बासीहरुको मुक्ति र अधिकारको निम्ति लड्ने पार्टी रहेको बताएका छन् ।

उनले नेकपा एमालेबाट देशको विकास र समृद्धि असम्भव रहेको बताएका छन् । उनले एमालेभित्र जनताको लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम गराएर सिध्याउन खोज्ने जमात रहेको भन्दै त्यस्ता पात्रहरुबाट देशको विकास र समृद्धि नहुने बताएका हुन् ।

उनले एमाले नेतृत्व गलत हुँदा एकता सफल हुन नसकेको बताउँदै आफ्नो पार्टीले एमालेसँग एकता गर्नु गलत नभई एमाले नेतृत्व गलत भएको दाबी गरे । उनले भने, ‘एमालेसँगको एकता त्यस वर्गको अधिकारलाई संस्थागत गर्नको निमित्त थियो । तर, एमाले मुख्य नेतृत्व कम्युनिस्ट होइन रहेछ । नेकपा एमालेसँगको एकता गलत थिएन । एमाले नेतृत्व गलत हुँदा एकता सफल भएन ।’

भेलाले जीवन मोक्तानको अध्यक्षतामा २५ सदस्यीय वडा वाइसीएल कमिटी घोषणा गरेको छ । भेलाले कमिटीको उपाध्यक्षमा रामबहादुर पाख्रिन, सचिवमा गणेश घलान, सह–सचिवमा देविन्द्र थापा मगर, कोषाध्यक्षमा सुष्म रुचाल मगर, सदस्यहरुमा डम्बर बहादुर घले, सहादेव कार्की, प्रशान्त वाइबालाई चयन गरेको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका कमिटी इन्चार्ज बालकुमार मल्ल, गाउँपालिका अध्यक्ष लालसिं गुरुङ, सदस्य बुद्धिराज गिरी, अमर घले, वाइसीएल गाउपालिका कमिटी अध्यक्ष मिलन तामाङ लगायतका आतिथ्यता रहेको थियो ।