दशैंका लागि नयाँ नोट ४ गतेदेखि वितरण हुने

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार १८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार, आगामी असोज ४ गतेदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने भएको हो ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेको जनाइएको छ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोना महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमणको दर घटेपनि जोखिम बढ्दो रहेकोले स्वास्थ्य मापदण्ड अपनाएर दशैंका लागि नयाँ नोट विरतण गर्न लागेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

उनका अनुसार, यस वर्ष दशैं तिहार लक्षित नयाँ नोट एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका एक/एक गड्डीका दरले १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्नेछ ।