राजस्व कार्यालय हेटौंडाद्वारा ८ करोड ३ लाखभन्दा बढी बेरुजु फछ्योट

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार १७:२६

मकवानपुर । बागमती प्रदेश, आन्तरिक राजस्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु ८ करोड ३ लाखभन्दा बढी बेरुजु फछ्योट गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा रु ८ करोड ३ लाख ९८ हजार बेरुजु फछ्योट गरेको राजस्व कार्यालय हेटौंडाका प्रमुख शालिकराम आचार्यले जानकारी दिए ।

उनका अनुसार, गत आर्थिक वर्षमा रु ८ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्योटको लक्ष्य तोकिएको कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ ।
यसैगरी, गत आर्थिक वर्षमा मुल्य अभिवृद्धि बक्यौदातर्फ रु ४ करोड एक लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख आचार्यले बताए । गत आवमा रु ४ करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य गरेको थियो ।

कार्यालयले आथिएक वर्ष २०७७/०७८ मा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । लक्ष्यभन्दा रु ६० करोड बढी राजस्व सङ्कलन भएको हो । कार्यालयका अनुसार, गत  आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष ०७७/०७८ मा राजस्व सङ्कलन २५ प्रतिशतले बढेको छ ।

कार्यालयको करदाता सेवा शाखाका अनुसार, गत आर्थिक वर्षमा थप चार हजार दुई सय ९१ व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धि करतर्फ ४ सय ४२ नयाँ व्यवसाय दर्ता भएको छ । उक्त आवमा थप ८ हजार ३ सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ ।