एमसीसी उपाध्यक्ष सुमार र प्रचण्डबीच भेटवार्ता
मकवानपुर । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एससीसी) का उपाध्यक्ष पतिमा सुमारले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेकी छिन् ।
सुमार प्रचण्ड भेट्न बिहान खुमलटार पुगेकी थिइन् ।
बिहीबार काठमाडौं आएको सुमार नेतृत्वको टोलीले नेपालका राजनीतिक दलका शीर्ष नेतासंग छुट्टाछुट्टै भेट गरिरहेको छ ।
भेटमा प्रचण्डले एमसीसीका सम्बन्धमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सत्तारूढ गठबन्धनभित्र पनि यस विषयमा साझा धारणा बन्नुपर्ने बताए ।
उक्त भेटवार्तापछि सुमारले प्रचण्डपत्नी सीता दाहाललाई भेटेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी थिइन् । उनको स्वास्थ्यलाभको कामना गरेकी थिइन् ।
सुमारसितको भेटवार्तापछि प्रचण्ड सत्तारूढ गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटारतिर लागेका थिए ।
