एमालेको अवरोध पछि प्रतिनिधिसभा बैठक केहीबेर स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा अवरुद्ध पारेको छ ।
आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेका सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।
सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल भट्टराई बोले । उनले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि नै प्रश्न उठाए ।
सभामुख अग्निप्रसाद सापकोटाले पनि आफूले जवाफ दिने बताए ।
उनी बोलिसक्दा नसक्दा एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले सभामुखको व्यवहार मुर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन् ।
एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
