मकवानपुरमा मोबाइल खाता एप्लिकेशन सार्वजनिक

तु खबर संवाददाता
२०७८ भाद्र १८, शुक्रबार ०८:५६

मकवानपुर । मकवानपुरमा वेदान्त टेक्नोलोजी प्रालिले व्यवसायीहरुको सहजताका लागि मोबाइल खाता एप सार्वजनिक गरेको छ ।

कम्पनीले बिहिबार हेटौंडामा पत्रकार सम्मेलनमार्फ मोबाइलमा नै राख्न मिल्ने गरी मोबाइल खाता एप्लिकेशन सार्वजनिक गरेको हो ।

सो कम्पनीले ‘मोबाइल हातमा, खाता साथमा’ भन्ने मुल नारासहित परम्परागत खाता राख्ने प्रविधिलाई डिजिटल बनाउँदै मोबाइल खाता बजारमा ल्याएको कम्पनीका निर्देशक भरत सापकोटाले जानकारी दिए ।

नेपालका लागि डिजिटल माध्यममा खाता राख्ने यो पहिलो डिजिटल एप भएको सापकोटाले बताए । उनले तीन तहको साइबर सुरक्षासहित एप बजारमा ल्याएको बताए ।

व्यापारिक क्रियाकलापमा खरिद, बिक्री, खर्च, उधारो आदि सम्पूर्ण लेखा परम्परागत प्रविधिबाट राख्दा विभिन्न समस्या झेल्नु पर्ने अवस्थालाई चिर्न डिजिटल रुपमा आफ्नो मोबाइलमा नै कारोबारका सम्पूर्ण विवरण राख्न सकिने गरि मोबाइल खाता बनाइएको सापकोटाले बताए ।

हाल ५ हजारभन्दा बढीले सो एप डाउनलोड गरिएको र ३ हजार ८ सयभन्दा बढीले प्रयोग गरिरहेको सापकोटाले बताए ।

उनका अनुसार, मोबाइल खातालाई गुगल प्ले स्टोर र एप्प स्टोरमा गएर डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ ।

केही समयका लागि निशुल्क रुपमा एप प्रयोग गर्न सकिने भएपनि पछि एप खरिद गर्नु पर्ने उनले बताए । उनका अनुसार एक वर्षको लागि भ्याट बाहेक ५ हजार शुल्क तिरेर सो एप किन्नुपर्नेछ ।

उनले निकट भविष्यमा सो एपबाट नै मोवाईल ढुवानी, मोवाइल पसलका सुविधाहरु पनि थप गर्दै सेवा प्रदान गर्ने योजना रहेको जानकारी दिए ।