निर्वाचन आयोगले नेपाल र ठाकुर पक्षलाई सनाखतको लागि बोलायो

तु खबर संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १८:४८

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि बोलाएको छ ।

आयोगले दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि बोलाइएको आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि बुधबार नेकपा एमालेबाट अलग भएको माधव नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गराएको छ ।

यस्तै जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको छ ।