बागमती सरकारमा मुख्यमन्त्री शाक्यको यात्रा कति सुरक्षित ?

तु खबर संवाददाता
२०७८ भाद्र ३, बिहीबार ०९:४६
मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्य

मकवानपुर । बुधबार नेकपा एमालेको शीर्ष नेतृ अष्टलक्ष्मी शाक्य बोहरा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भइन् । निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसंगै एमालेको एकल बहुमतको सरकार गठनको दावीअनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा संसदीय दलको बहुमत प्राप्त नेताको रुपमा मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनी देशकै पहिलो महिला मुख्यमन्त्री र बागमती प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भइन् ।

बुधबार राति नै सपथ लिएकी शाक्यले रातारात ३ सदस्यीय मन्त्रिमण्डलसमेत विस्तार गर्न भ्याइन् ।

उनले सांसद् कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरिन् ।

मन्त्री पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिइयो । बाँकी मन्त्रालय भने उनी आफैँले राखेकी छिन् ।

२०३६ सालबाट एमाले राजनीतिमा प्रवेश गरेकी शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका तथा महिला बालबालिका एवम् समाज कल्याणमन्त्री भइसकेकी छिन् ।

एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरेसंगै विभाजन भएको एमालेले बागमतीमा आफ्नो दलको सरकार टिकाउने रणनीतिका साथ शाक्यलाई मुख्यमन्त्रीको अफर दिएको हो ।

प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्यलाई मुख्यमन्त्री बनाएर माधव पक्षका सांसद् एमालेमै सुरक्षित गर्ने केन्द्रीय रणनीति अनुसार बुधबार डोरमणि पौडेललाई राजीनामा गराइएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । शाक्यलाई जिम्मेवारी दिएर शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन आएसंगै पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरियो, र बहुमतको दावीअनुसार मुख्यमन्त्री नियुक्त गरियो ।

हाल बागमती प्रदेशमा कूल ११० जना सांसदमध्ये १०९ जना मात्रै रहेका छन् । नेकपा एमालेका सांसद पशुपति चौलागाईको निधन भएसंगै बागमतीमा प्रदेशसभा सदस्यको संख्या १०९ जना मात्रै छ ।

अहिले प्रदेशसभामा एमालेको ५६ जना सांसदसहित एकल बहुमत छ । तर केन्द्रमा माधव नेपालले नयाँ दल गठन गरेसंगै स्पष्ट अल्पमतमा एमाले पर्ने निश्चित थियो । किनकी प्रदेशमा माधव पक्षको मात्रै २२ जना सांसद रहेका छन् ।

अल्पमतमा पर्नु अघि नै पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्रीको अफर दिई आफ्नै दलको सरकार टिकाइराख्ने एमालेको दाउ छर्लङ्गै छ ।

बुधबार मुख्यमन्त्री नियुक्त भएकी शाक्यले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । उनको नेतृत्वमा सरकार यथावत रहन ५६ जना सांसदको साथ आवश्यक रहन्छ ।

केपी ओली क्याम्पमा गएर मुख्यमन्त्री बनेकी शाक्यलाई आफ्नोसहित ३५ मत मात्रै पक्का छ । उनलाई माधव पक्षका ९ जना सांसदले विश्वासको मत दिने आँकलन गरिएको छ । त्यसो हुँदा उनको पक्षमा ४४ मत मात्रै हुन्छ । सरकारमा बहुमत पुर्याउन उनलाई थप १२ मत पुग्दैन ।

माधव पक्षको २२ सांसद मध्ये १३ जना सांसद अर्का प्रभावशाली नेता राजेन्द्र पाण्डेको ग्रिपमा भएको स्रोत बताउँछ । तर, पाण्डेले आफ्नो कित्ता क्लियर गरिसकेका छन् । उनी माधव नेपालले गठन गरेको पार्टी नेकपा एमाले समाजवादीमा रहेको जानकारी गराएका छन् । उनले सत्ताको लोभमा परी प्रतिगमनकारी र स्वेच्छाचारीहरुसंग कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारिसकेका छन् ।

एमालेकै तर्फबाट सांसद बनेकी मुनु सिग्देल पनि माधव नेपालले गठन गरेको पार्टीको केन्द्रीय सदस्य नियुक्त भइसकेकी छिन् ।
प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको २३, र प्रतिपक्षी दल कांग्रेसको २२ मत छ । एमालेबाट मुख्यमन्त्री भएकी शाक्यलाई माओवादी र कांग्रेसले मत नदिने संभावना न्यून छ ।

अन्य साना दलको ७ र १ स्वतन्त्र गरी प्रदेशसभामा ८ जना सांसद पनि रहेका छन् । ती सबै सांसदले मुख्यमन्त्री शाक्यलाई नै विश्वासको मत दिए भनेपनि बहुमत पुग्न ४ मत पुग्दैन । तर, प्रतिगमनको क्याम्पमा उभिएको कारण उनलाई साना अन्य दलका सांसदले पनि विश्वासको मत दिने संभावना न्यून छ । अर्थात प्रदेश सरकारमा उनको यात्रा १ महिनामा नै टुंगिने संभावना छ ।

तत्कालीन समयमा नेकपाभित्र विवाद हुँदा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै दाहाल–नेपाल समूहले उनैलाई मुख्यमन्त्रीका रूपमा अगाडि बढाएको थियो ।
यता, मुख्यमन्त्री शाक्यले भने ५ बर्षको कार्यकालमा बाँकी समय आफुनै मुख्यमन्त्री कायम रहने दावी गरेकी छिन् । उनले पार्टी एकतालाई जोगाउन आफु पार्टीकै निर्देशन बमोजिम मुख्यमन्त्री भएको बताउँदै विश्वासको मत प्राप्त गर्ने प्रशस्त आधार भएको बताइन् । मलाई माओवादी र कांग्रेसले पनि समर्थन गर्नुहुन्छ, माधव पक्षका सांसदले सहयोग नगर्ने कुरै भएन – उनले भनिन् ।