डोरमणि पौडेलको राजीनामा स्वीकृत, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री पदमा नियुक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा संसदीय दलको बहुमत प्राप्त नेता अष्टलक्ष्मी शाक्यलाई बुधबार बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।
त्यस्तै उनले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
केन्द्रमा नेकपा एमाले विभाजन भएसंगै बागमती प्रदेश सरकार परिवर्तन भएको हो ।
माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरेसंगै डोरमणि पौडेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको थियो ।
पार्टी विभाजनपश्चात प्रदेशमा आफ्नो दलको सरकार टिकाइराख्न एमालेले नेपाल पक्षको नेतृत्व संहालिरहेकी शाक्यलाई मुख्यमन्त्री बनाउने रणनीति तय गरेको
थियो ।
नवनियुक्त मुख्यमन्त्री शाक्यले आजै पद र गोपनियताको सपथ लिएकी छिन् । उनलाई प्रदेश प्रमुख प्रसाईले सपथ गराएका हुन् ।
मुख्यमन्त्री शाक्यले केही दिनमा नै मन्त्रिपरिषद् विस्तार गर्ने समेत जनाइएको छ ।
काठमाडौं जिल्लामा जन्मिएकी शाक्य अहिले ६८ बर्षकी छिन् । स्नातकसम्म अध्ययन गरेकी शाक्य तत्कालिन स्थानीय विकास र सामान्य प्रशासनमन्त्री भइसकेकी छिन् ।

