अपडेटः एमालेको सरकार टिकाउन अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको चिठ्ठा

बलराम पुडासैनी
२०७८ भाद्र २, बुधबार १७:२६

मकवानपुर । केन्द्रमा नेकपा एमाले विभाजन भएसंगै बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ ।

बुधबार माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेपछि एमालेको स्पष्ट बहुमतमा रहेको बागमती सरकार धरापमा परेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसंगै माधव पक्षले ‘नेकपा एमाले समाजवादी’ दर्ता गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशमा माधव पक्षको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने रणनीतिमा एमाले छ ।

एमालेको माधव पक्ष र ओली पक्ष दलगत हिसाबले एउटै भएकाले पौडेलको सत्ता टिकिरहेको थियो । यसअघि पनि बारम्बार पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन एमालेकै माधव पक्षका सांसद्हरुले माग गर्दै आएका थिए ।

एमालेले बागमती प्रदेशमा आफ्नो सरकार टिकाउन माधव पक्षलाई मुख्यमन्त्री दिने गरी तयारी अघि बढाएको स्रोतले बताएको छ ।

त्यसका लागि एमालेले मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट राजीनामा दिन लगाएर माधव पक्षकी नेतृ शाक्यलाई आजै चयन गसिसकेको छ ।
स्रोतका अनुसार आजै मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिने र नेतृ शाक्यलाई बहुमतको आधारमा प्रदेश प्रमुद विष्णुप्रसाद प्रसाईले नियुक्त गर्ने तयारी गरिएको छ ।

बागमती प्रदेशमा नेकपा एमालेको ५६ जना सांसद रहेका छन् । जसमध्ये केपी ओली पक्षका ३४ जना र माधव नेपाल पक्षका २२ जना सांसद रहेका छन् । कूल ११० जनामध्ये १०९ जना सांसद रहेको बागमती प्रदेशमा सरकार गठन गर्न ५६ जना सांसद चाहिन्छ ।

माधव नेपालले नयाँ दल दर्ता गरेपछि गलेको एमालेले माधव पक्षकै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने राणनीति अघि सारेको हो ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल स्वयमले शाक्यलाई संसदीय दलको नेताका रुपमा प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बहुमतले पारित गरेसंगै एमाले संसदीय दलको नेता परिवर्तन भएको सूचना बागमती प्रदेशसभाको सचिवालयमा पठाइसकिएको छ ।

आजै मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिने र नेतृ शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गर्ने तयारी एमालेको छ ।

यद्यपी, माधव पक्षका अर्का प्रभावशाली नेता एवम् बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले एमालेमै रहने वा माधव नेपालले दर्ता गरेको नयाँ दलमा जाने भन्ने सन्दर्भमा आधिकारिक जानकारी दिएका छैनन् ।

यदि, नेता पाण्डेलाई एमालेले आफुसंगै राख्न नसकेको खण्डमा शाक्य मुख्यमन्त्री नियुक्त भएपनि उनले विश्वासको मत लिने सक्ने भने आधार टुट्ने देखिन्छ ।

एमाले नेता पाण्डेको पक्षमा १० जनाभन्दा बढी सांसदहरु रहेको स्रोत बताउँछ । पाण्डे एमालेमै नरहेको अवस्थामा शाक्यलाई अन्य साना दलका ८ जना सांसदले विश्वासको मत दिँदा पनि उनको सरकार टिक्ने अवस्था रहँदैन ।