सुटिङको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, आधा दर्जन बढी घाइते

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार १७:३९
सांकेतिक तस्वीर

काठमाडौं । म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किदै गरेको गाडी धादिङको गजुरीमा गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुटिङबाट काठमाडौ फर्किदै गरेको गाडीलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठक्कर दिएपछि दुर्घटना भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

उक्त दुर्घटनामा निर्देशक परिपुलुङ राईको बहिनी रेनुपुलुङ राईको भने घटनास्थलमै मृत्यु भएको छ । परिपुलुङ राई निर्देशक, मोडल र गीतकार पनि हुन् । उनकै नेतृत्वमा सुटिङ युनिट काठमाडौंबाट पोखरा गएको थियो ।

यस्तै, सोही दुर्घटनामा परी बस ड्राइभर सहित दर्जन घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाएको छ ।

निर्देशक परिपुलुङ राईको भने पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका दुबै गाडीदमई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।