२५ मिटर सडक: मुख्यमन्त्री पौडेलको अवरोध कायमै, मेयर महत विस्तारको पक्षमा

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार ०९:४३

मकवानपुर । लामो समयदेखि अन्यौलमा परेको २५ मिटर सडक विस्तारको विषय एकाएक फेरी चर्चामा आएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडक विस्तार गरेरै छाड्नै अडानसहितको अभिव्यक्ति सार्वजनिक गरेपछि यो विषयले पुनः चर्चा पाएको हो ।

गएको साउन २९ गते हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्नेे हेटौंडा बजार क्षेत्रको सडकको दायाँबायाँ २५ मिटर विस्तार गरेरै छाड्ने अडान लिए । उनले यसका लागि उपमहानगरपालिकाले विगतदेखि नै पहल गर्दै आएकोसमेत बताए ।

उनले भने ‘पूर्वपश्चिम राजमार्ग अन्तरगतको राप्तीपुलदेखि मनहरी बजारसम्मको सडकखण्ड र कर्रा पुलदेखि अंलेखगञ्जसम्मको सडकखण्ड दुवै तर्फ विस्तार भइसकेको छ । बाँकी भनेको हेटौंडा बजार क्षेत्रमात्रै हो । यहाँ, पनि धेरैको धेरै स्वार्थ गाँसिएका कारण समस्या भएको हो ।सडक विस्तार गर्ने वा नगर्ने अथवा कति गर्ने भन्ने विषय टुंगोमा नपुग्दा हामी नै अन्यौलमा परिसक्यौँ । अब विकास विरोधी कोही पनि नबनौँ । विस्तारको काम छिट्टै अघि बढाऔँ ।’

उनले प्रदेश सरकारतर्फ लक्षित गर्दै भने ‘हामीले त सुरुवाती चरणदेखि नै सडक विस्तारको लागि पहल गर्दै आएका हौँ । तर, यहाँ त सडक विस्तारको विषय कसैको कमाई खाने भाँडो, कसैको राजनीति गर्ने मेलो पो बनिरहेको छ । अब यसरी हुँदैन ।’

उनको अभिव्यक्तिमा प्रदेश सरकारकै अवरोधका कारण सडक विस्तारको कामले पूर्णता पाउन नसकेकोप्रति असन्तुष्टि थियो ।

२०७५ साल साउन ३ गते हेटौंडा उपमहानगरपालिकाले २५ मिटर सडक विस्तारको लागि अनुरोध गर्दै प्रधानमन्त्रीको कार्यालयलाई निवेदन गरेको थियो । उपमहानगरपालिकाको निवेदनसंगै प्रधानमन्त्रीको कार्यालयले यस विषयमा चासो देखाएपछि तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीको नेतृत्वमा सडकको दायाँबायाँ अतिक्रमण गरेर बनाइएका घर टहर भत्काउने काम अघि बढाइएको थियो । तर, केही समयमा क्षेत्रीय प्रशासक केसीको सरुवा भयो । उनको सरुवासंगै विस्तारको काम पनि रोकिन पुग्यो ।

त्यतिबेला सडक विस्तार गर्नुहुँदैन भन्दै नारा लगाउने समूहका अगुवा डोरमणि पौडेल अहिले बागमती प्रदेशका मुख्यमन्त्री भएका छन् । त्यतिबेला जबरजस्ती सडक विस्तार गरियो भने डोजरमुनी सुत्छौँ, रगतको खोला बग्छ भन्दै अवरोध सृजना गर्ने पौडेलले मुख्यमन्त्री भएपछि विस्तारका लागि पहल गर्ने त झन कुरै भएन ।

तत्कालिन समयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र हालका अध्यक्ष कृष्ण कटुवालले पनि सडक विस्तार गर्नुहुँदैन भन्दै यस विषयलाई आफ्नो राजनीतिको तुरुप बनाइरहेका छन् । मउवा संघका नेताहरु र केही व्यवसायीहरुको स्वार्थपूर्तिका लागि बजार क्षेत्रका घरधनीसंग समन्वय गरी मुआब्जा माग गर्दै सर्वोच्चमा मुद्धा दायर गरेपछि सडक विस्तारको काम रोकिन पुग्यो ।

यता, करिब साँढे ३ बर्ष प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री पौडेललाई राजधानीका साँघुरा सडकले गिज्याइरहेका छन् । त्यसो त, पूर्वपश्चिम राजमार्गसंग जोडिएको मुख्य सडक क्षेत्रमा नै उनकोे ५ तले घर छ । आफ्नो घर जोगाउन र चुनावमा सहानुभूति मत प्राप्त गर्ने उदेश्यका साथ सडक विस्तारको काममा अवरोध खडा गरेको आरोप उनीमाथि छ ।

सडक विस्तारको काममा अवरोध गरेका मुख्यमन्त्री पौडेलले हेटौंडाको मुख्य बजार क्षेत्रबाट सडक विस्तारको काम गर्न नहुने भन्दै बैकल्पिक सडक निर्माणको विषय प्रदेश सरकारले जोडतोडका साथ उठाउने अभिव्यक्ति दिँदै हिडेका थिए ।

सरकारको नेतृत्व गरेको साँढे ३ बर्ष बित्यो । तर, न हेटौंडा बजार क्षेत्रको सडक विस्तार भयो, न मुख्यमन्त्रीले भनेजस्तै बैकल्पिक सडक निर्माण भयो । राजधानीवासीहरु अहिले पनि साँघुरो सडकमा यात्रा गर्न बाध्य छन् । साँघुरो सडकका कारण हेटौंडाका मुख्य चोकहरुमा दैनिकजसो सवारी जाम तथा दुर्घटना हुने गरेको छ ।

सडक डिभिजन कार्यालयले २०६९ साल भदौ १५ बाट महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको बीरगञ्ज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्म राजमार्ग र राजपथको दाँयाबायाँ २५/२५ मिटर सडक सीमा अतिक्रमण क्षेत्र १५ दिनभित्र हटाउनु भन्दै दर्जनौँ सूचना जारी गरिसकेको छ । तर, विस्तारको काम अझै अघि बढ्न सकेको छैन ।