मकवानपुरकै उत्कृष्ट स्थानीय तहमा थाहा नगरपालिका

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १६:१३

मकवानपुर । मकवानपुर जिल्लाकै उत्कृष्ट स्थानीय तहमा थाहा नगरपालिका घोषित भएको छ ।

शुक्रबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्वारा हेटौंडामा आयोजित छैठौं जिल्ला सभाले जिल्लाकै उत्कृष्ट स्थानीय तहमा थाहा नगरपालिकालाई घोषित गरेको हो ।

यससहित जिसस मकवानपुरको मुल्याङ्कनमा थाहा नगरपालिका तेस्रो पटक उत्कृष्ट स्थानीय तह घोषित भएको हो ।

उत्कृष्ट स्थानीय तह घोषित भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्क गोपालीलाई सम्मान प्रत्र हस्तान्तरण गरेका थिए ।

यस्तै, जिल्लामा स्थानीय तहको उत्कृष्ट दोस्रोमा मनहरी गाउँपालिका र तेस्रोमा बकैया गाउँपालिका घोषित भएको जिसस मकवानपुरले जनाएको छ ।

जिसस मकवानपुरले स्थानीय तहको कार्य प्रगती र संस्थागत क्षमताको मुल्याङ्कन कार्यविधि २०७७ समेत अंकभारलाई आधार मानि पुरस्कृत गरिएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।