प्रतिनिधिसभाको बैठक साउन ३२ गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १४:४१
file-photo

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ ।

आज शुक्रबार बसेको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकोले साउन ३२ गतेसम्मको लागि बैठक स्थगित गरेको सभामुख अग्नी सापकोटाले जानकारी दिए ।

उनका अनुसार, प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकक्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।