मकवानपुरमा ५ हजार बढीले लगाए कोभिसिल्डको दोस्रो डोज खोप
मकवानपुर । मकवानपुरमा कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदान गरिएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका मकवानपुरका करिब १३ हजार ४ सय ८० जना नागरिकहरुलाई बुधबारबाट दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको हो ।
मकवानपुरको दुई वटा पालिकाले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप प्रदान गरेको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिकाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ५ सय ९८ जनालाई दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप लगाएको छ भने हेटौंडा उपमहानगरपालिकाले ४ हजार ६ सय ५९ जना गरि कुल ५ हजार २ सय ४७ जनालाई एष्ट्राजेनेका खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनका अनुसार, गत २०७७ माघबाट सुरु भएको खोप अभियानदेखि हालसम्म विभिन्न समयमा गरी कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको हो ।
अन्य पालिकाहरुले आफ्नो खोप तालिका अनुसार सम्बन्धित वडाको स्वास्थ्य संस्थाहरूबाट खोप लगाउने तयारी थालेका छन् ।
मकवानपुरको लागि प्राप्त भएको १६ हजार डोज खोपमध्ये १५ हजार १ सय २० डोज स्थानीय तहलाई वितरण गरिएको सूचना अधिकारी घिमिरेले बताए ।
