मकवानपुरमा सवारी दुर्घटना बढ्दो : एक वर्षमा २४० दुर्घटना, ६० को मृत्यु

पत्रपत्रिका
२०७८ श्रावण २८, बिहीबार ०८:१३

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परी वर्षेनी दर्जनौं मानिसको मृत्यु हुने गरेको छ । ४ वर्षको सवारी दुर्घटना हेर्दा सबैभन्दा धेरै सवारी दुर्घटनाको घटना गत आर्थिक बर्ष २०७६/०७७ मा भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा ६८ वटा सवारीसाधनहरु दुर्घटना हुँदा पुरुष ४३, महिला १० र बालबालिका ५ गरी ५८ जनाको मृत्यु भएको ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा १ सय ९ वटा सवारी दुर्घटनामा पर्दा ४६ जना पुरुष, महिला ५ र बालबालिका २ गरी ५३ जनाको मत्य भएको थियो ।

सवारी दुर्घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल दुर्घटना भएको कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा ६० जनाको मृत्यु भएकोमा पुरुषको संख्या सबैभन्दा बढी रहेको छ । दुर्घटनाबाट ५२ पुरुष, ४ महिला र ४ बालबालिकाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै घाइते हुनेमा समेत पुरुषको संख्या बढी छ । गत आर्थिक वर्षको श्रावण महिनामा ७ दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने भाद्र महिनामा ८ दुर्घटना हुँदा मुत्यु संख्या शुन्य देखियो । आश्विन महिनामा सबैभन्दा बढी दुर्घटना र मृत्यु संख्या रहेको छ ।, आश्विन महिनामा ३५ दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।

कार्तिक महिनामा २४ दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने मंसिरमा २३ वटा दुर्घटना भएकोमा ४ जनाको मृत्यु भएको छ । पौषमा १६ दुर्घटनामा ३ जनाको मृत्यु भएको, माघमा २७ दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । त्यस्तै फागुनमा २७ दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चैतमा १८ दुर्घटनामा २ जनाको मृत्यु भएको हो । बैशाखमा १९ दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । जेठमा १५ दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । असारमा ११ दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

सबैभन्दा बढी सवारी दुर्घटना मोटरसाइकबाट हुने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ । अनुभव बिना मोटरसाइकल चलाउने, तीव्र गति तथा अन्य सवारीहरूले ठक्कर दिने लगाएतका कारणले पनि जिल्लामा सबैभन्दा बढि मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो समय सडकमा छाडा छोडिएका पशु चौपायाका कारण पनि घटनाको जोखिम बढिरहेको प्रहरीले जनाएको छ । चालकमा उच्च रक्तचाप, हतार, यान्त्रिक गडबडी, सडकका अवस्था, मादक पदार्थ सेवन, आँखाको दूरदृष्टिमा कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ।

कार्यालयले प्रत्येक महिना सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गर्नुका साथै सवारीसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गरिरहेको जनाएको छ तर पनि सवारी दुर्घटनाको न्यूनीकरणमा सन्तोषजनक सफलता पाउन कठिनाइ भएको प्रहरीको भनाई छ ।

मकवानपुरको सदरमुकाम हेटौंडा बागमती प्रदेशको राजधानी समेत भएकाले यहाँको सवारी चाप पछिल्लो समय बढ्दो क्रममा दशकौ पुरानो मापदण्डका सडक, पूर्वपश्चिम राजमार्गलगायत केन्द्रीय राजधानी काठमाडौलाई जोड्ने र दूरीका सडक सञ्जालले हेटौंडालाई जोड्ने हुनाले पनि मकवानपुर भएर दैनिक हजारौंको संख्यामा सवारी आवतजावत गर्ने गरेका छन् । यस्ता सवारी चापको चुनौतीलाई करिब ३० जनाको ट्राफिक जनशक्तिबाट सवारी व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक पाण्डेले बताए ।

मकवानपुरमा निषेधाज्ञाको अवधिभन्दा बाहेकको समयमा २७ हजार सवारी साधन दैनिक गुड्ने अनुमान प्रहरीको छ । हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर मा रहेको जनशक्तिलाई आधार मान्ने हो भने एउटा ट्राफिक प्रहरीले करिब ९०० सवारी साधनलाई निगरानी गर्नुपर्ने अवस्था देखिन्छ । कतिपय अवस्थामा ट्राफिक प्रहरीको आँखा छलर सवारी नियम मिच्ने सवारीलाई, कारवाही गर्न जनशक्ति नै अपुग रहेको सहजै अनुमान गर्न सकिन्छ।

मकवानपुर जिल्ला बागमती प्रदेशको राजधानी भएका कारण दैनिकजसो विशिष्ट, अति विशिष्ट व्यक्तिको बाक्लो उपस्थिति हुने भएकाले अन्य सवारीका अतिरिक्त उनीहरुका लागि सवारी व्यवस्थापन गर्नुपर्ने चुनौती पनि प्रहरीलाई नै छ। यो समाचार आजको हेटौंडा सन्देश दैनिकमा छ ।