हेटौंडाको बुद्धचोकमा एक व्यक्तिमाथि खुकुरी प्रहार

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार १०:४२
सांकेतिक तस्बिर

मकवानपुर । हेटौंडाको बुद्धचोकमा आज बिहान एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ । दुई युवकबीच भएका आन्तरिक विवादका कारण खुकुरी प्रहार हुँदा हेटौंडा उपमहानगरपालिका–१० बसपार्क बस्ने सौरम लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले तु खबरलाई जानकारी दिए ।

उनका अनुसार, खुकुरी प्रहारबाट लामाको खुट्टामा चोट लागेको छ । उनको हेटौंडाको अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, खुकुरी प्रहार गर्ने अर्का युवक हेटौंडा उपमहानगरपालिका–१ बस्ने प्रसान्त नगरकोटीको टाउकोमा चोक लागेको जनाएको छ । उनलाई लामाले आफ्नो ज्यानको सुरक्षाका लागि इट्टा प्रहार गर्दा टाउकोमा चोक लागेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । लामाको अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक रिमालका अनुसार उनीहरुबीच यसअघि पनि झगडा भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मिलापत्र गरेर पठाइएको थियो ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।